चितवनमा लोडसेडिङ सुरु भएको छैनः हितेन्द्रदेव शाक्य

काठमाण्डु टुडे २०८२ साउन ११ गते १३:१८ मा प्रकाशित

काठमाण्डू, ११ साउन– नेपाल विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन । आज (आइतबार) काठमाण्डूमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन ।

उनले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको भन्दै लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको बताएका छन । चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार विद्युत आपूर्ति बन्द गर्न लागिएको उनले बताए ।

पुरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर परिवर्तन गर्न खोजिएको उनले बताएका छन । उनले विद्युत क्षमता वृद्धि गर्दा पुरानो नेटवर्क धान्न नसकेका कारण बत्ती जाने समस्या देखिएको पनि बताएका छन ।

त्यस्तै शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद ३५ दिनका लागि थप गरिएको समेत बताए । समितिले निर्णय गरेपछि बक्यौता उठाइने भन्दै शाक्यले बक्यौता उठ्न नसके लाइन काटिने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us