काठमाण्डू ११ साउन– पूर्व संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले नेपालको सबैभन्दा ठूलो समस्या भनेको देश विकासको स्पष्ट खाका नहुनु रहेको तर्क गरेका छन ।
शनिबार काठमाण्डूको तीनकुनेमा युथ भिजन नेटवर्कद्वारा आयोजित ‘विद्यार्थीसँग जनप्रतिनिधि’ शृङ्खलाको तेस्रो श्रृङ्खलामा विद्यार्थीहरूसँग संवाद कार्यक्रममा बोल्दै माओवादी सांसद किराँतीले यस्तो बताएका हुन । उनले भने, हामीसँग आन्दोलन गर्ने रणनीति प्रशस्त थियो, तर देश कसरी समृद्ध बनाउने भन्ने स्पष्ट खाका बनेन। आन्दोलनले सत्ता परिवर्तन त भयो, तर जनजीवन परिवर्तन भएन ।’
उनले भने, ‘२०० वर्षअघि युरोपमा हलोमा मान्छे जोतिन्थ्यो, नेपालमा गोरु । आज युरोप चन्द्रमामा पुगिसक्यो, तर नेपाल अझै गोरु जोत्नमै सीमित छ ।’ नेपालको पछाडिनुको मूल कारण भनेको ज्ञान, विज्ञान, र प्राविधिक शिक्षामा लगानीको अभाव रहेको उनको तर्क छ ।
सांसद किराँतीले जोड दिँदै भने, ‘विदेश गएका देशहरूको अनुकरण गरेर मात्र विकास हुँदैन। नेपालको आफ्नै मौलिकता, भूगोल र समाज अनुसारको विकास मोडल बनाउनु आवश्यक छ ।’
कार्यक्रममा सहभागी विद्यार्थीहरूले सांसद किराँतीसँग राजनीतिक यात्रा, अनुभव र विचारहरूबारे जिज्ञासा राखेका थिए। उनले विद्यार्थीहरूलाई पनि देश विकासको योजनामा सोच्न, संलग्न हुन र नेतृत्व लिन आह्वान समेत गरेका छन ।
कार्यक्रम युथ भिजन नेटवर्कको आयोजनामा सम्पन्न भएको हो । आयोजकका अनुसार, यस्ता अन्तरक्रियात्मक कार्यक्रमले विद्यार्थी र जनप्रतिनिधिबीच प्रत्यक्ष सम्वादको अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ।