कुलिङ पिरियडबारे ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै संसदीय छानबिन विशेष समिति

काठमाण्डु टुडे २०८२ साउन ११ गते १२:२५ मा प्रकाशित

काठमाण्डू, ११ साउन– कुलिङ अफ पिरियडबारे संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न तयारी गरेको छ ।

तीन जना नेतासँग भेटेर सोध्ने गरी दुई प्रश्न तयार गरिएको स्रोतले जानकारी दिएको छ । यी दुई प्रश्न सोध्ने र जे जवाफ दिन्छन् त्यो रेकर्ड गरेर प्रतिवेदनमा समावेश गर्ने तयारी समितिको तयारी रहेको छ ।

यसो गर्दा गर्दा शीर्ष नेताले कुलिङ पिरियडबारे जे धारणा दिन्छन् त्यसले राष्ट्रिय सभालाई समेत सघाउने छानबिन समितिको विश्वास रहेको छ । प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा विचाराधीन छ ।

पारित भएको विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड निश्कृय हुने प्रावधान रहेको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन समिति बनाएर छलफल गरिरहेको छ । राष्ट्रिय सभाले पनि विधेयक अगाडि बढाएको छ ।

राष्ट्रिय सभामा कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर समेत संशोधन परेका छन् । यस्तो संशोधन सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकै सांसदहरूबाट परेको छ । यो अवस्थामा संसदीय छानबिन विशेष समितिले शीर्ष तीन नेतासँग छलफल गर्न लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us