काठमाण्डू, १० साउन– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि प्रकट गरेका छन् ।
राष्ट्रपति पौडेलले शनिबार शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङले लोकतन्त्र स्थापना र पुनर्स्थापनामा पुर्याएको महत्त्वपूर्ण योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन् ।
गुरुङको चितवनस्थित निवासमा शनिबार बिहान निधन भएको थियो ।
राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलनका बेला गुरुङले चितवनबाट नेतृत्वदायी भूमिका निर्वाह गरेको समेत स्मरण गरेका छन् ।
राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
कांग्रेस चितवनका पूर्वसभापतिसमेत रहेका गुरुङ २१ साउन २०७८ मा गण्डकी प्रदेश प्रमुख नियुक्त भएका थिए ।