पशुपतिको होटलमा भएको साँठगाँठले नेकपा फुट्यो: प्रचण्ड

काठमाण्डु टुडे २०८२ साउन १० गते १६:२४ मा प्रकाशित

काठमाण्डू, १० साउन– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाको एकता पशुपतिको एक होटलमा भएको षड्यन्त्रपूर्ण साँठगाँठका कारण टुटेको बताएका छन् ।

शनिबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित ‘निर्वासन’ नामक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनलेआफूले प्रधानमन्त्री पद नै त्यागेर एकता जोगाउन प्रयास गरे पनि त्यो सफल हुन नसकेको  बताए ।

अध्यक्ष दाहालले विचार र राजनीतिक कार्यदिशामा स्पष्टता बिना गरिने एकता नटिक्ने बताए । ‘मैले प्रधानमन्त्री पनि चाहिँदैन, तपाईं (केपी ओली) नै हुनुहोला भनेपछि उहाँको अनुहार उज्यालो भएको थियो,’ उनले भने, ‘एकता भयो, झण्डै दुई तिहाइ आयो, तर टिकेन ।’

उनले आफूले अध्यक्षको हैसियतमा एउटा मात्र केन्द्रीय कमिटी बैठक चलाएपछि केही नेताहरू अत्तालिएको दाबी गरे । ‘अर्को हप्ता त प्रचण्डले एमाले सिध्याउने भयो भनेर पशुपतिको एउटा होटलमा गएर साँठगाँठ भएछ,’ उनले भने, “त्यसपछि सुरु भइहाल्यो लडाइँ । यही त हो हाम्रो चरित्र ।’

अध्यक्ष दाहालले पुष्पलालले निरंकुश राजतन्त्रलाई मुख्य शत्रु मानेर अन्य शक्तिसँग सहकार्य गरेको स्मरण गराउँदै अहिलेको मुख्य शत्रु दलाल र नोकरशाही पुँजीवाद भएको बताए ।

‘अहिले नेपाली क्रान्तिको, नेपाली जनताको मुख्य समस्या के हो ?’ उनले प्रश्न गरे, ‘मुख्य बाधक दलाल पुँजीवाद हो । यसका विरुद्ध सम्पूर्ण शक्ति एक हुनुपर्छ भन्ने संकल्प गर्नु नै पुष्पलालप्रति सम्मान हो ।’

उनले अमूर्त र आदर्शवादी ढंगले मात्रै कम्युनिस्ट एकता सम्भव नहुने भन्दै विचार, राजनीतिक कार्यदिशा, रणनीति र कार्यनीतिमा एकता भएपछि मात्रै एकता दिगो हुने बताए ।

उनले अबको कम्युनिस्ट आन्दोलनको एकताको केन्द्रविन्दु पुष्पलाललाई बनाउनुपर्ने प्रस्तावसमेत राखे । ‘बाँचेका जतिले त उसले उसलाई गाली गर्छ, उसले उसलाई घृणा गर्छ,’ उनले भने, ‘अब पुष्पलाललाई केन्द्रविन्दुमा राखेर, उहाँलाई नेता मानेर एकताको प्रयास गरौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us