गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

काठमाण्डु टुडे २०८२ साउन १० गते १६:१८ मा प्रकाशित

काठमाण्डू, १० साउन–कांग्रेस नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ ।

उनको शनिबार बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।  कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

भरतपुर महानगरपालिका–२६ निवासी गुरुङले नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए । नेपाली कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए ।

२००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन् । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै थिए ।  २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए । गुरुङका छोरा विदेशमा भएकाले आइतबार अन्त्येष्टि गरिने जनाइएको छ ।

उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने कान्छा छोरा र श्रीमती छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us