केपी ओली र शंकर पोखरेलले देशभर गुटबन्दी गरेः कर्ण थापा

काठमाण्डु टुडे २०८२ साउन १० गते १३:५१ मा प्रकाशित

काठमाण्डू, १० साउन–एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले पार्टीमा गुटबन्दी गरिरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार थापाले ओली र पोखरेलले देशभर गुट चलाएको आरोप लगाएका हुन् । १०औं महाधिवेशनपछि एमालेमा इतिहासमै सबैभन्दा बढी गुुटबन्दी भएको उनको भनाइ थियो । गुटबन्दीका लागि पार्टी कार्यालयको दुरुपयोग गरिएको थापाले बताए ।

‘मूल नेतृत्व र पार्टी नीतिमा कही पनि मतभेद छैन तर पार्टी अध्यक्ष र महासचिवको नाम लिदै उहाँले यस्तो भन्नुभएको छ, उस्तो भन्नुभएको छ भनेर तलतलसम्म आफ्नो स्वार्थका रोटी सेक्ने काम भएको छ । पार्टी कार्यालयमै बसेर देशभरी गुटलाई प्रश्रय दिने काम भएको छ,’ थापाले लेखेका छन् ।

केही सीमित मानिसहरु पार्टीका आधिकारिक व्यक्ति बन्ने र अरुलाई दोश्रो दर्जाको सदस्यको रुपमा व्यवहार गर्ने गलत प्रवृत्ति पार्टीमा हाबी भएको टिप्पणी गरे ।
जनताको बहुदलीय जनवाद र आन्तरिक लोकतान्त्रिकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाइए पनि पार्टीभित्र त्यस प्रकारको व्यवहार नभएको थापाले बताए ।

‘विश्व कम्युनिष्ट आन्दोलनमा पार्टी भनेको केन्द्रीय कमिटी, केन्द्रीय कमिटी भनेको महासचिव वा अध्यक्ष, पार्टी निर्णय भनेको केही निश्चित व्यक्तिहरु बसेर गरेको सल्ल्लाहा र त्यसलाई औपचारिकता दिन कमिटीका बैठक भन्ने गलत अभ्यासलाई जनताको बहुदलीय जनवादले सच्यायो । पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाउने महत्वपूर्ण उपलव्धी नेपालको कम्युनिष्ट आन्दोलनले प्राप्त गर्यो । त्यस बमोजिमको व्यवहार हुन सकिरहेको छैन’, थापाले लेखेका छन्, ‘हामी खासखास समयमा चुकिरहेका छौं । एमालेलाई निर्णायक राष्टिय शक्ति बनाउनको लागि गुटबन्दी अन्त्य गरिनु पर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us