काठमाण्डू, ९ साउन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी सदस्यताले लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै सदस्यता नवीकरणबाट रोक लगाउन नमिल्ने तर्क गरेका छन ।
एमालेको केन्द्रीय कमिटीको बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरे पछि आज (शुक्रबार) पहिलो पटक काठमाण्डूमा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । उनले भनिन्, ‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो ।
अहिले पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ । यति हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन,’ भण्डारीले भनेकी छिन् । साथै, उनले आफूलाई रोक्नेगरी एमालेले गरेको निर्णय वैध र परिपक्व हुन नसक्ने बताएकी छिन् ।
‘यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ । आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यले अस्थायी रुपमा प्रभावित तुल्याउन सकिए पनि वास्तविकतालाई समेत छोप्न सकिँदैन,’ उनले भनिन्, ‘छलफल गरिकन विवेकसंगत ढंगबाट निर्णय लिनुपर्छ भन्ने पार्टी र जबजको मर्म पनि यही हो ।
पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुन सक्दैन ।’ यो पार्टी बनाउन म लगायत हजारौं योद्धा र सदस्यले रगत पसिना लगाएको छ । यो कुरा म कुनै भावनामा बगेर गरिरहेको छैन,’ उनले भनिन् ।