काँग्रेसले फेरि एकपटक प्रधानमन्त्री ओलीलाई झुकायो

काठमाण्डु टुडे २०८२ साउन ८ गते २३:१० मा प्रकाशित

काठमाण्डू, ८ साउन– सरकार नेतृत्वकर्ता एमालेले फास्ट ट्र्याकबाट पारित गराउन चाहेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८२ संसदीय समितिमा छलफलका लागि पठाइएको छ ।

बिहीबार प्रतिनिधिसभाले विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय गरेको हो ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरेका थिए ।

प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा स्वीकृति जनाएको सभामुखले घोषणा गरे । हदबन्दीभन्दा बढी जमिन निजी प्रयोजन र बिक्रीका लागि दिने प्रावधानसहित आएको उक्त विधेकयलाई लिएर सत्तारुढ काँग्रेस र एमालेबीच विवाद भएको थियो ।

काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले नै विधेयकमा संशोधन दर्ता गराएका थिए ।

काँग्रेसको गम्भीर असहमति र दुई शक्तिशाली महामन्त्रीको संशोधन प्रस्तावका बीच प्रधानमन्त्री केपी ओली विधेयक छोटो बाटोबाट पारित गराउन चाहन्थे । तर, अन्तिममा आएर उनी काँग्रसको अडानका अगाडि झुकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us