काठमाण्डू, ८ साउन– झापामा अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।
विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर र कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन ।
शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबाट जानकारी पाएको उनले जानकारी दिए । निजले कनकाईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आएका थिए ।
मगरको घर भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ । स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा मगरले सुङ्गुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आएका थिए । उनले सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले भने, ‘मृत भेटिनुभएका दुवै जना अत्यधिक मदिरा सेवन गर्दै आउनुभएको अनुसन्धानका क्रममा खुलेको छ, घटनाको थप अनुसन्धान भइरहेको छ ।’