मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानुनी संरचना आवश्यकः जनार्दन शर्मा

काठमाण्डु टुडे २०८२ साउन ८ गते १८:४१ मा प्रकाशित

काठमाण्डू, ८ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानुनी संरचना आवश्यक रहेको बताएका छन ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद शर्माले यस्तो बताएका हुन । उनले प्रविधिको दुरुपयोग गर्दै मानव बेचबिखनलाई सहज बनाउने प्रवृत्ति बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन ।

माओवादी उपमहासचि शर्माले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शर्माले मानव तस्करी नयाँ रूप र प्रविधिबाट सञ्चालित हुने गरेको उल्लेख गर्दै सोही आधारमा विधेयकलाई समृद्ध बनाउन जरुरी रहेको पनि बताएका छन । उनले सीमापार तथा प्रलोभनका भरमा तथा अनावश्यक आशा देखाएर मानव बेचबिखन बढिरहेको पनि बताएका छन ।

माओवादी सांसद शर्माले भने, ‘प्रविधिको दुरुपयोग गरेर आज मानव बेचबिखनलाई सहज बनाउने कुचेष्टा भइरहेको छ । यसलाई नियन्त्रण कसरी गर्ने मुख्य चुनौती हो । अहिले मुख्यतः दुई किसिमले मानव बेचबिखन भइरहेको छ ।

एउटा अवैध तरिकाले सीमापार तथा प्रलोभनमा पारेर तथा अनावश्यक आशाहरू देखाएर विदेशमा पठाउने गरिएको छ । भिजिट भिसा प्रकरण यसकै उदाहरण हो । अहिले रोजगारीको लागि खाडी मुलुकमा पुगेका महिलाहरू अहिले ठुलो प्रताडना खेपिरहनु भएको छ ।

यी सबै समस्याको निराकरण गर्ने गरी यो विधेयक ल्याउनुपर्छ । अहिले नेपाली नागरिकहरू पाइला पाइलामा बेचिएका छन् । यस्तो अवस्थालाई सुधार गर्नको लागि हाम्रो कानुनलाई बलियो बनाउन जरुरी छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us