सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा दायर गर्ने अख्तियारको निर्णय

काठमाण्डु टुडे २०८१ वैशाख ९ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख– नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

अख्तियारले आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको हो ।

गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई १० माघमा पक्राउ गरेर हिरासतमा रहेका छन ।

अख्तियार स्रोतले भन्यो, ‘गत शुक्रबार नै अदालतमा म्याद थप गर्नुपर्ने थियो, तर आइतबार नै मुद्दा लैजान सकिने अवस्था भएपछि त्यही अनुसारको तयारी गरेका हौं, ‘आयोगबाट निर्णय भइसकेको छ । आज अपराह्नसम्म विशेष अदालतमा सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुनेछ ।’

आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका हुन् । उनीविरुद्धको अनुसन्धान बाँकी रहेको भन्दै अख्तियारले गत शुक्रबार २१ दिनका लागि विशेष अदालतबाट म्याद थप गरेको हो । सुनिल पौडेलविरुद्ध अख्तियारले दायर गर्न लागेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us