एमाले करोडपति: १२ करोड रुपैयाँभन्दा बढी मौज्दात, ७० जिल्लामा आफ्नै भवन

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– नेकपा एमालेको बैंक खातामा १२ करोड ६९ लाख रुपैयाँभन्दा बढी मौज्दात देखिएको छ । आज शनिबार देखी ललितपुरबो गोदावरीमा सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार एमालेको बैंक खातामा र नगद गरी १२ करोडभन्दा बढी रकम मौज्दात देखिएको छ ।

यो २०८० सालको असार मसान्तसम्मको अवधिको एमालेको सम्पत्ति हो । यसबाहेक सोही अवधिसम्ममा एमालेसँग स्थिर तथा अन्य सम्पत्ति (भवन निर्माणसमेत) ५ करोड ९२ लाख ५४ हजार रुपैयाँ सम्पत्ति देखिएको छ ।

बैठकमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनअनुसार पार्टीका विभिन्न कोषमा ५ करोड १३ लाख रुपैयाँ रहेको छ । यसमध्ये कार्यकर्ता संरक्षण कोषमा १ करोड ३५ लाख र अन्य कोषमा ३ करोड ७७ हजार रुपैयाँ छ ।

आर्थिक वर्ष ०७८/७९ मा पार्टीले २२ करोड ८० लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । यसमध्ये २१ करोड ६५ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरीएको छ । सो आर्थिक वर्षमा पार्टीको खर्चभन्दा आम्दानी १ करोड ७९ लाख रुपैयाँ बढी रहेको थियो । सो आर्थिक वर्षमा विधान महाधिवेशन र दसौँ राष्ट्रिय महाधिवेशन हुनुअघि सदस्यता शुल्क र लेबी उठ्दा आम्दानी उच्च भएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

सो वर्ष सदस्यता शुल्क ६ करोड ८५ लाख रुपैयाँ र लेबी १२ करोड २६ लाख रुपैयाँ उठेको बताइएको छ । यस्तै विधान अधिवेशनमा ४ करोड ६३ लाख रुपैयाँ र दसौँ महाधिवेशनको खर्च ११ करोडभन्दा बढी भएको थियो । आर्थिक वर्ष २०७९र२०८० मा कूल आम्दानी ८ करोड ९७ लाख रुपैयाँ भएको केन्द्रीय लेखा आयोग अध्यक्ष पुष्प कँडेलले जानकारी दिएका छन । यस्तै सोही वर्ष कूल खर्च ११ करोड ६० लाख रुपैयाँ देखिन्छ । यो आम्दानीको तुलनामा २ करोड ६२ लाख रुपैयाँ बढी खर्च हो ।

उक्त आर्थिक वर्षमा आम्दानीको तुलनामा खर्च बढी हुनुको मुख्य कारण सङ्घीय र प्रदेश निर्वाचन भएको कँडेलको भनाई छ । सङ्घीय र प्रदेश निर्वाचनमा मात्रै ३ करोड ९४ लाख रुपैयाँ खर्च भएको थियो ।

सो आर्थिक वर्षमा भने पार्टीको खाता घाटामा रहेको देखिएको छ । एमालेले देशका ७० जिल्लामा आफ्नै कार्यालय बनाएको छ । बाँकी जिल्लामा समेत भवन निर्माणाधीन प्रक्रिया जारी रहेको बताइएको छ । जुन पार्टीको स्थिर सम्पत्ति हो ।

   अधिकांश प्रदेश घाटामा (२०८० असार मसान्तसम्ममा)

यस अवधिमा एमालेको सबैजसो प्रदेश कमिटी घाटामा देखिएका छन् । ७ प्रदेश र एक विशेष प्रदेशमध्ये दुई वटा कमिटी मात्रै नाफामा छन् ।

विशेष प्रदेश कमिटी २०८० असार मसान्तसम्ममा ७ लाख ९४ हजार रुपैयाँ नाफामा हुँदा सुदूरपश्चिम प्रदेश कमिटी २ लाख रुपैयाँले नाफामा रहेको छ । यद्यपि यी प्रदेश कमिटीहरूले केन्द्रीय कार्यालयलाई बुझाउनुपर्ने कूल रकम भने करोडौँमा छ ।

२०८० असार मसान्तमा मधेस प्रदेशले जिल्लाहरूबाट केन्द्रीय कार्यालयमा पठाउन बाँकी रकम १ करोड ६६ लाख रुपैयाँ छ । यस्तै बाग्मतीले २ करोड १० लाख, गण्डकीले ६२ लाख १६ हजार, गण्डकीले २९ लाख रुपैयाँ केन्द्रीय कार्यालयमा पठाउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us