रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति हो: अध्यक्ष ओली

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १७:०३ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उदय र नेपाली कांग्रेसको शक्ति बिस्तारलाई विवेचनायोग्य घटनाको रूपमा चित्रण गरेका छन ।

आज (शनिबार) देखी ललितपुरको गोदावरीमा सुरु भएको एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले रास्वपा प्रियतावादी शक्तिको रूपमा र कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रूपमा उल्लेख गर्दै ती दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति बिस्तार नयाँ र विवेचनाको विषय बनेको बताएका छन ।

उनले भने, ‘ निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेका छन् । यस बिचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा सङ्कट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ ।

यस स्थितिले सृजना गरेको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ । उनीहरूले यस्ता समस्यालाई उजागर र उपयोग गर्न त सक्छन् ।

तर उनीहरूसँग यसको समाधान भने छैन ।’ उनले संविधानका मूल विषयमा अस्पष्ट र असहमत रहनेहरूको सङ्ख्या निर्वाचनपछि प्रतिनिधि सभामा उल्लेख्य भएकाले मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको निष्कर्ष पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us