सहकारी ठगीमा रकम बुझाएर छुटेका लीला गुरुङ फेरि पक्राउ

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १७:३९ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– काठमाण्डुमा रहेको हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका लीलाबहादुर गुरुङ फेरी पक्राउ परेका छन ।

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार गुरुङलाई पक्राउ गरेर फेरी अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । उनीविरुद्ध मंगलबार नै जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्यादसमेत लिएर अनुसन्धान अघि बढाइएको परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन ।

काठमाण्डुको हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्ष समेत रहेका गुरुङसहित कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक समिति सदस्य नवीन अछामीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनीसहितका व्यक्तिले ठगी गरेको भन्दै ११ जनाले सीआईबीमा जाहेरी दिएका थिए ।

११ जनाको २ करोड ६० लाख ठगी गरेको खुलेको थियो । तर पक्राउ परेकाहरूले ठगीको रकम फिर्ता गरेपछि सीआईबीले मुद्दा नचलाउने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पठाएको थियो ।

सरकारी वकील कार्यालयले पनि रकम फिर्ता भइसकेकाले मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू छुटेका थिए । तर गुरुङविरुद्ध अर्को सहकारी कल्याण उपकार सेभिङ एण्ड क्रेडिटको रकम अपचलन गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी थियो ।

कल्याण उपकारका अध्यक्ष समेत रहेका गुरुङलाई ललितपुर प्रहरीले सीआईबीबाट मंगलबार जिम्मा लिएको थियो । उनीसहित सञ्चालक समितिका सात जनाविरुद्ध जाहेरी परेको थियो ।

सातै जनाविरुद्ध पक्राउ पूर्जीसमेत जारी भए पनि बाँकी ६ जना भने अहिलेसम्म फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us