काकर पाकिस्तानको कार्यबाहक प्रधानमन्त्री नियुक्त

काठमाण्डु टुडे २०८० साउन २८ गते ११:०६ मा प्रकाशित

एजेन्सी–अनवर–उल–हक काकर पाकिस्तानको कार्यबाहक प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति आरिफ अल्वीले काकरलाई कार्यबाहक प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्ले संसद् विघटनको निर्णय गरेपछि जारी राजनीतिक अन्यौलका बीच पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीमा काकर नियुक्त भएका हुन् । उनलाई विपक्षी दल समेतको समर्थन छ ।

कार्यबाहक प्रधानमन्त्री चयनका विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफल भएको थियो । सोही छलफलपछि काकरको नाममा सहमति जुटेको समाचार एजेन्सीहरुले बताएका छन् ।

काकर २०१८ देखि पाकिस्तानको सांसद छन् । २०१८ को पाकिस्तानी सिनेट निर्वाचनमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट स्वतन्त्र उमेदवारका रूपमा निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us