भारतको लोक सभाले गर्‍यो राहुल गान्धीलाई संसदमा पुनर्बहाल

काठमाण्डु टुडे २०८० साउन २२ गते १४:२९ मा प्रकाशित

एजेन्सी- भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली भएको छ।

लोक सभाका महासचिवले उनको सांसद पद सोमबार पुनर्बहाल गरेका हुन्।पुनर्बहाली भएसँगै राहुल संसद भवन पुगेका छन्। उनले सं‌सद भवन परिसरमा रहेको महात्मा गान्धीको शालिकमा फूल चढाएका छन्।

गान्धी संसद फर्किएसँगै कंग्रेसका नेताहरूले खुसियाली मनाए। उनीहरूले नाराबाजी गरे भने मिठाइ पनि बाँडेका थिए।भारतको सर्वोच्च अदालतले गान्धी माथिको सजायमा गत शुक्रबार रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको थियो।

सुरत जिल्ला अदालतले गान्धीमाथि मानहानी मुद्दामा २ वर्षको सजाय सुनाएको थियो। उक्त आदेशलगत्तै लोक सभाले उनलाई सा‌ंसद बन्न अयोग्य घोषणा गरेको थियो।

गत चैतमा सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो। ४ वर्षअघि लोकसभा चुनावका क्रममा कर्नाटकाको कोलारमा भाषण गर्दै गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us