
काठमाण्डू, २८ जेठ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।
स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा गएराति नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ ओभर २ बलमा २ सय २० रन बनाएर अलआउट भयो ।
नेदरल्यान्ड्सका लागि सबैभन्दा धेरै वेस्ले बरेसीले ३६ रन बनाए । नेपालका नन्दन यादव र सन्दीप लामिछानेले ३÷३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । नेपालका आरिफ शेखले अविजित ८४ रन बनाए ।
नेदरल्यान्ड्सका पउल भान मीकेरेनले ४ विकेट लिए । योसँगै नेपालले लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो चौथौ चरणमा ४ मध्ये ३ खेल जितेको छ ।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालसँग नेदरल्यान्ड्स ५ विकेटले पराजित भयो । तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो ।
नेपाल लिग–२ को तालिकामा १६ खेलमा १२ अङ्क जोड्दै सातौं स्थानमा छ । यस्तै नेदरल्यान्ड्स दोस्रो र स्कटल्यान्ड तेस्रोमा छ । लिग–२ को शीर्ष स्थानमा अमेरिका छ ।
अब नेपालले स्कटल्यान्डमा आइतबारबाट सुरु हुने टी–२० अन्तर्राष्ट्रिय ऋंखला खेल्नेछ ।