काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको संवादपछि एमाले–नेकपा सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत बस्नेतले प्रचण्डलाई उद्धृत गर्दै ओलीसँगको वार्तापछि सहकार्यले औपचारिक रूप लिएको उल्लेख गरेका हुन् । तर, दुई नेताबीचको भेट वा वार्ता कहिले र कहाँ भएको थियो भन्नेबारे उनले कुनै जानकारी दिएका छैनन् ।
बस्नेतका अनुसार उक्त सहकार्य प्रदेश सरकार गठनको समीकरणमा मात्र सीमित नरही मुलुकको हित, राजनीतिक स्थायित्व तथा कम्युनिस्ट शक्तिबीचको सहकार्यलाई थप मजबुत बनाउने दिशामा केन्द्रित हुनेछ ।
‘वाम शक्तिबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा छ,’ बस्नेतले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
यसअघि पनि एमाले र नेकपाबीच सहकार्यको चर्चा भइरहेका बेला बस्नेतको यो अभिव्यक्तिलाई दुई पक्षबीचको राजनीतिक संवाद थप अघि बढेको संकेतका रूपमा हेरिएको छ ।