कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा,सतर्कता अपनाउन आग्रह

काठमाण्डु टुडे २०८० असार २० गते १२:२४ मा प्रकाशित

काठमाण्डु ,२० असार- मुलुकमा जारी मनसुनी वर्षाका कारण देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

निरन्तरको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढेको छ । कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार अहिले तिनाउ नदीको बहाव खतरा तहमा पुगेको छ ।

स्याङ्जा, अर्घाखाँची, रुपन्देही र पाल्पा जिल्ला बाढीका हिसाबले चेतावनी तहमा रहेका छन् । ती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

बागलुङ, कास्की, तनहुँ, पाल्पालगायत जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन चेतावनी जारी गरिएको विभागले उल्लेख गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले पनि कोशी नदीको बहाव बढेको जनाएको छ । सप्तरी, सिरहा, धनुषा जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ । निरन्तरको वर्षाले सेती, कालीगण्डकी नदीको माथिल्लो भेगमा पानीको बहाव बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us