
काठमाण्डु, ४ असार- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।
चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने भएको हो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर जहाज बुधबार ९: ३० बजे पोखरा विमानस्थल अवतरण गर्ने कार्यतालिका रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
उक्त जहाज १ घण्टा पोखरामा होल्ड भएर काठमाण्डु आउने र सोही दिन चीन फर्किने समेत निरौलाले जानकारी दिए । खासगरी दक्षिण एसियामै पहिलोपटक पोखरामा आयोजना गरिएको ड्रागन बोट रेस फेस्टिबलको अवसरमा चार्टर्ड फ्लाईट हुन लागेको हो ।
पोखरा महानगरपालिका, चिनिया दूतावास र पर्यटन बोर्डको संयुक्त कार्यक्रममा असार ८ र ९ गते पोखरामा बोट रेस आयोजना हुँदैछ । सोही बोट रेस कार्यक्रमका लागि खेलाडीसहित १२० भन्दा बढी चिनियाँ पर्यटकहरू उक्त जहाजमार्फत नेपाल आउने प्रवक्ता निरौलाले जानकारी दिए।
सोही अवसरमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित सांसदहरू सोही विमानमा पोखरामा झर्ने प्रवक्ता निरौलाले जानकारी दिए।