प्रेम चलाउने प्रकरणः पीडितलाई न्याय दिन र पीडकलाई दण्डित गर्न सरकारसँग माग

काठमाण्डु टुडे २०८० असार ५ गते १२:२८ मा प्रकाशित

काठमाण्डु ,५ असार- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूको ज्यान मार्ने उद्योग मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडिक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न पनि सरकारसँग माग गरेका छन।उनले त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरणासन्न हुने गरी कुटपीट गर्नेहरूलाई कडा भन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरूमाथि लगाइएको मुद्दा समेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरे।

‘प्रहरीले पनि भित्र जान पाउँदैन भन्ने हाम्रो शान्तिको मान्यतालाई गुण्डागर्दीको शैलीमा दिनदहाडै त्यसरी कुटपिट गरेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो। न्याय चाहिन्छ।

न्यायलाई मर्न नदिऊ,’ उनले भने। ‘न्याय पनि मर्योन भने हाम्रो आशा रहँदैन। विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरनासन्न हुने गरी कुटनेहरूलाई नछोडौं। म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु। कृपया, यो गल्तीलाई सच्याउनुस्। पीडितलाई न्याय दिनुस्,’ उनले भने।

प्रमुख सचेतक परियारले शैक्षिक संस्थाहरु शान्ति क्षेत्र हुने मान्यतालाई समेत तिलाञ्जली दिने काम गरेका नेविसंघका ती विद्यार्थीहरुमाथि लगाइएको ज्यान मार्ने उद्योग अन्तरगतको मुद्दा सरकारले फिर्ता लिन नमिल्ने जिकीर समेत गरे ।

नेविसंघका कार्यकर्ताविरूद्धको ज्यानमार्ने उद्योगको मुद्दा गत जेठ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले फिर्ता गर्ने निर्णय गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us