
काठमाण्डु, ५ असार- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम विना र भारत सीता विना अधुरो रहेको बताएका छन् ।
उनले सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताए । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ भएको बताएका छन।
मन्त्री किराँतीले भने, ‘कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भने पनि नेपालको ऊन, नेपालको छाला भारत निर्यात हुने गर्थ्यो । पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ ।
यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित, सम्मान छौं । हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ ।’ उनले महेन्द्र नगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको बताए ।
यस्तै कार्यक्रमा बोल्दै उनले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताए। योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिए पनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको उनले बताए ।