
बाँके, ५ असार– बैजनाथ गाउँपालिका–४ पिपलडाँडाकी सुनिता परियारको विवाह भएको १२ वर्ष भयो ।
छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता भएको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताइन् ।
तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन् । तीनै जनाको जन्मदर्ता भएको छैन । सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनको भनाइ छ ।
‘विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन’, सुनिताले भनिन्, ‘अहिले घर न घाटको भएकी छु । श्रीमान्लाई घरपरिवारले अन्यत्र भगाएका छन । आफूलाई भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ ।’
सुनिता अहिले राँझास्थित दिदीसँग बस्दै आइरहेकी छन् । श्रीमानले घर छाडेपछि दिदीसँगै बस्दै आएको छन् । अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताइन् । ‘वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हारेस खाइसकें कतैबाट आश्वासन आएन’, उनले भनिन्, ‘जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने ?’, उनले भनिन् ।
सुनिताकी आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाए। ‘बिहे गरेदेखि नै छोरीको दुःख देखेर घरमा शान्तिको महसुस कहिल्यै भएन,’ उनले भनिन्, ‘छोरीको पीडा देखेर उराठ लाग्छ, सधैँ चिन्ताले सताइरहन्छ । यसको विवाह दर्ता बन्यो र नातिनातिनीहरूको जन्मदर्ता बनेको हेर्न इच्छा छ ।’
सुनिताले बिहे गरेदेखि सुनिताका श्रीमान् र सासु–ससुराले विवादमात्र सिर्जना गरेको आमा विष्णुले बताइन् । सुनिताको माइतीमा कोही मर्दापर्दा पनि आउँदैनन् भन्दै आमा विष्णु पछ्यौराले मुख छोपेर भक्कानिइन् । बोल्दा पनि होच्याएर बोल्ने,अपशब्द प्रयोग गरेर बोल्ने गरेको उनको भनाइ छ । सुनिताको दुःख देखेर नङ्गा परियारले सकेको सहयोग गर्दै आइरहेकी छन् । दिदीको पनि सुनिताको भन्दा त कम पीडा छैन । तर पनि सुख–दुःख जेजस्तो भए पनि बाँडीचुडी खाउँला भनेर उहाँहरूसँगै बस्दै आएका छन् ।
‘बहिनीको दुःख देखेर दया लागेर आउँछ, सुनिताको श्रीमान् खोज्न हरसम्भव प्रयास गर्दा पनि भेट्टाउन सकिरहेका छैनौं”, नङ्गाले भनिन् ‘ज्वाइँलाई लुकाउन घरपरिवारको ठूलो हात छ । तर पनि हामीलाई कानुनमाथि विश्वास छ, एक दिन त मेरी बहीनी र यसका बच्चाले पक्कै न्याय पाउनेछन् ।’
बैजनाथ–४ का वडासचिव तिलक खत्री नागरिकता र विवाहदर्ताका लागि श्रीमान् स्वयं उपस्थित हुनुपर्ने बताउँछन् । बालबच्चाको जन्मदर्ता बनाउन सचिवले नै बालबालिकाको आफन्त र गाउँ समाजलाई साक्षी राखेर बनाउन सकिने उनको भनाइ छ । वडासचिव खत्रीका अनुसार रामबहादुर थापालाई वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरेपछि आफूहरूले सबै प्रक्रिया पुर्याएर विवाह दर्ता र नागरिकता सिफारिसका साथै जन्मदर्ता बनाउन मद्दत गर्ने जानकारी गराए ।
श्रीमान नभएको खण्डमा विवाहदर्ता र नागरिकताका लागि अदालतबाट नाता प्रमाणित कायम गरेको प्रमाणका आधारमा पनि बनाउन सकिने वडासचिव खत्रीले बताए ।