
काठमाण्डु, ४ जेठ– एमाले सांसद सुनिता बरालले कतिपय देशका राजदूतावास हटाउनुपर्ने बताएकी छन् ।
आर्थिक वर्ष ०८०/०८१ को बजेटमाथिको छलफलका क्रममा सोमबार प्रतिनिधिसभामा बोल्दै बरालले अत्यावश्यक बाहेकका मुलुकमा राजदूतावास जरुरी नरहेको तर्क गरिन् । मुलुकमा विद्यमान आर्थिक संकटलाई मध्यनजर गर्दै अनावश्यक रुपमा राखिएका दूतावास हटाउनुपर्ने माग बरालले राखिन् ।
‘अत्यावश्यक देशमा बाहेक अन्य देशमा दूतावास राख्ने काम बोझिलो भएको छ’, बरालले भनिन्, ‘विद्यमान आर्थिक संकटको समयमा अनावश्यक खर्च बढ्ने गरी राजदूतवासहरुको संरचना र कर्मचारी व्यवस्थापन गर्नु उचित होइन ।’
बरालले राष्ट्रको महत्वपूर्ण उपाधि, गरिमा, पृष्ठभूमि र मुलुकका लागि दिएको योगदानको मूल्याङ्कनका आधारमा राजदूत नियुक्तिको विधि बनाउनुपर्ने उल्लेख गरिन् । उनले कुटनीतिक कामका लागि नेपालले गरिरहेको आर्थिक लगानी उपलब्धीमुलक नभएकामा सरकार र सदनको ध्यानाकर्षण गराइन् ।
बरालले सीमा क्षेत्रका नेपालीले भोग्दै आएका ज्यादती र पीडा सबैले बुझे पनि सीमा सुरक्षा र गायब पारिएका सीमा स्तम्भ फेरि गाड्न बजेट व्यवस्था नगरिएको भन्दै आपत्ति जनाइन् । छिमेकीसँगका अरु महत्वपूर्ण काम छाडेर मुलुक लामो समयदेखि सीमा समस्यामा अल्झिएको उनको भनाइ थियो ।
‘सीमा सुरक्षा नीतिर्लाइ थप व्यवस्थित गर्ने कुरामा अझै पनि हामीले ध्यान दिएका छैनौं’, बरालले प्रश्न गरिन्, ‘छिमेकीसँगका अन्य धेरै कामहरु छाडेर कहिलेसम्म हामी सिमानामै अल्झिने हो ?