
काठमाण्डु, ४ असार– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सरकारविरुद्ध अनसन थालेका छन् ।
सरकारले आफूमाथि कुटपिट गर्नेविरुद्धको मुद्धा फिर्ता लिएपछि चलाउनेले अनसन सुरु गरेका हुन् । चलाउनेले आफू त्रिवि परिसरमा अनसन बसेको जानकारी दिए ।
सरकारले नै मुद्धा फिर्ता लिएर न्यायको बाटो बन्द गरेकाले बाध्य भएर अनसन बसेको उनको भनाइ छ । यसअघि काठमाण्डु जिल्ला अदालत अगाडि अनसन बस्न खोज्दा चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।
आफूमाथि कुटपिट र अभद्र व्यवहार गर्ने काँग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्ध उनले ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेका थिए । काठमाण्डु जिल्ला अदालतमा विचाराधीन मुद्धा मन्त्रिपरिषदको ३० मंसिरको निर्णयले फिर्ता भएको थियो । चलाउनेमाथि ०७७ साल असोज २० गते नेविसंघ कार्यकर्ताले कुटपिट गरेका थिए ।
आफूमाथि कुटपिट गरेको भन्दै चलाउनेले नेविसंघ त्रिवि अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रवीन लामा, सहयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझामाथि ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरेका थिए । आचार्य र रावलबाहेक पाँच जना २० देखि ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन् ।
चलाउनेले देश नै गुण्डा र अपराधीहरुले सञ्चालन गरेकाको आरोप लगाउँदै यस्तो देशमा बाँच्नुको कुनै अर्थ नरहेको तर्क गरे ।