
काठमाण्डु, २६ जेठ– एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको बताएका छन ।
आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भागलिँदै उनले यस्तो बताएका हुन ।
उनले सत्तारुढ दलका शीर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने पनि बताएका छन । उनले भने,‘डडेलधुरामा बजेट बढ्यो रे, गोरखामा बजेट बढ्यो रे।
नुवाकोटमा बजेट बढ्यो रे। क्रमागत आयोजनाहरु काटिन्छन्। तर आज केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित भएको छ ।’उनले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दावी समेत गरेका छन ।
उनले यो बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताएका छन । उनले भने,‘यो बजेटबाट धेरै आशा गर्ने ठाउँ छैन । यसकारण विद्यमान आर्थिक संकटको सम्बोधन र मन्दीबाट माथि उठाउनका लागि यो बजेट सफल देखिदैन्, ‘ र एउटा भनाइ छ–जुनकिरीको पिँधले स्वार्थ उज्यालो हुँदैन भनेजस्तै यो बजेटले समस्याको समाधान गर्न सक्दैन।’
सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने पनि बताएका छन ।