
काठमाण्डु, २६ जेठ– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले माओवादीको शक्तिविना पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताएका छन ।
बजेटमाथि संसदमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै व्यंग्य गरेका थिए । आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शर्माले त्यसको जवाफ दिँदै नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुने बताएका छन ।
उनले संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता मुद्दा माओवादीको विरासत भएको र संसदको तेस्रो शक्ति बनेपनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति बाँकी रहेको बताएका छन ।
शर्माले भने, ‘यसको बलमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएको होइनौं र ?’
उनले ४ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा एमालेको एकल एजेण्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयीकरण भएको भन्दै उनले भने, ‘याद रहोस्, माओवादीको शक्तिविना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ ।’