देशमा भ्रष्टाचारको नांगो रुप देखिन थाल्यो: माधव नेपाल

काठमाण्डु टुडे २०८० जेठ २६ गते १२:२९ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिन सुरु गरेको बताएका छन ।

आज (शुक्रबार) काठमाण्डुमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपाले यस्तो बताएका हुन ।

उनले नेपाली राजनीतिमा सबैभन्दा चर्को रुपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताएका छन । उनले भने– ‘अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रुप आएको छ ।

भूटानी शरणार्थी प्रकरण होस् या कुनैपनि कामहरु बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरु होस्, गलत प्रवृत्तिको विरुद्धमा जुध्नुपर्नेछ ।’

उनले पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था भएको बताएका छन ।

उनले जनतालाई पीडा दिने र शोसक सामन्तहरु र दलाल पुँजीहरु हाबी हुन पुग्ने र इमन्दार र असल मानिस पाखा लाग्नुपर्ने स्थितिको सिर्जना भएको अध्यक्ष नेपालले बताएका छन ।

अध्यक्ष नेपालले भने, ‘अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ’ उनले भने, ‘बिना पैसाको कुनै काम नहुने पैसामा लोभिने, जनतालाई पीडा दिने र शोसक सामन्त, जाली फटाहाहरु अझै दलाल पुँजीहरु हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ, यसलाई परिवर्तन गर्न चाहन्छौँ ।’

उनले अहिले पुनः प्रतिगामी शक्तिहरु सल्बलाएको बताएका छन । उनले वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us