
काठमाण्डु,२० वैशाख– जिल्ला अदालत, काठमाण्डुले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएपछि बुधबार उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
लगत्तै उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डुले जिल्ला अदालत, काठमाण्डुमा उपस्थित गराएको थियो । अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाण्डुका एक अधिकृतले जानकारी दिएका छन ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी भएको थियो ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।
यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए । उनीहरुको बयान लिने क्रममा रामबहादुर थापा ‘बादल’ र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला उनीहरुले कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलेको थियो ।