उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख २० गते १४:०९ मा प्रकाशित

काठमाण्डु,२० वैशाख–उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । आज बुधबार जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले राजधानीको पेप्सिकोलाबाट पाण्डेलाई पक्राउ गरेको हो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।

यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । नेपालीलाई भुटानी बनाउने गिरोहमा राजनीतिक संलग्नता रहेको प्रहरीले बताएको छ ।

प्रहरीले बुधबार पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव रहेका थिए ।

मन्त्रालयको सचिव भएकै अवस्थामा नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको पाण्डेमाथि आरोप लागेको छ । आरोपीहरुले बयानका क्रममा उनको नाम पटक पटक मुछेको प्रहरी अधिकारीहरु बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us