
काठमाण्डु, २० वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको बताएका छन ।
आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै उनले यस्तो बताएका हुन । अध्यक्ष नेपालले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताएका छन ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने उनले बताएका छन ।
नेपालले भने,‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ ।
यसले गठबन्धन धरापमा पार्न सक्छ ।’ नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताएका छन ।
उनले समाज समृद्ध भए मात्र जनता खुसी हुने बताउँदै आफ्नो पार्टी समृद्धिको अभियानमा रहेको बताएका छन । उनले भ्रष्टाचार, सबै खालका विकृतिबाट टाढा रहने र अरू भन्दा भिन्न देखिन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिइएको पनि बताएका छन ।
नेपालले आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको कुनै दुरुपयोग नगरेको बताउँदै देश विकासका निमित्त आफ्नो कार्यकालमा महत्त्वपूर्ण काम भएको दाबी गरेका छन ।