
काठमाण्डु, १९ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको डेढ वर्षसम्म पनि यँहि सरकार कायमै रहे मुलुक टाट पल्टिने बताएका छन ।
आज (मंगलबार) एमाले काठमाण्डु महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र यसलाई रोक्न नसके डेढ वर्षमा मुलुक असफल राष्ट्र बन्ने खतरा भएको बताएका छन ।
उनले भने, ‘यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिदैछ । तर एउटा उद्योगपति, जो सत्तापक्षीय उद्योगपति उसको ४० अर्ब खुद नाफा एक वर्षमा ।
एउटा व्यक्तिले चालिस अर्ब थप कमायो । सम्पत्ति बढायो चालिस अर्ब । देशमा अहिले स्थानीय तहमा समपूरक बजेट ५० प्रतिशत भन्दा बढि पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसक्यो’ ।
उनले उद्योगहरु प्राय बन्द रहेको र निर्माण व्यवसाय ध्वस्त भएको भन्दै ओलीले सत्तारुढ गठबन्धनलाई मुलुकको चिन्ता नभएको बताएका छन ।
उनले मुलुकमा पैसा नभएकै कारण औपचारिक माध्यमबाट आयात कम भइरहेको भन्दै अनौपचारिक माध्यमबाट सामान आयात हुँदा भन्सार राजस्व कम उठेको बताएका छन ।