
काठमाण्डु, १९ वैशाख– जसपा अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य उपेन्द्र यादवले सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन ।
उनले अस्थीरताले कसैलाई हित नगर्ने भन्दै आफू सरकारको स्थायीत्वको पक्षमा भएको बताएका छन । आज मंगलबार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरिसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘सरकारले पूरा कार्यकाल गर्नुपर्छ भन्ने पक्षमा हामी छौं । अस्थिरताले कसैलाई हित गर्दैन ।’ उनले पार्टीको तर्फबाट सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्ने पनि बताएका छन ।
सरकारमा आफैं जाने कि अरुलाई पठाउने भनेर पत्रकारले सोधेको प्रश्नमा यादवले भने, ‘सरकारमा जान बाँकी मन्त्रीहरु चाँडै फुलफिल हुन्छ । को जाने भनेर पार्टीले निर्णय गर्छ ।’
रास्वपालाई पुरानै मन्त्रालय दिने तयारीबारे राखिएको जिज्ञासामा उनले राजनीतिक स्थीरताका लागि वृहत्तर सहमति हुनुपर्ने बताएका छन ।
उनले भने, ‘म त चाहान्छु अझ वृहत्तर सहमति हुनुपर्छ। अझ राष्ट्रिय सहमति बनोस् । यदि भएन भने दुर्भाग्यपूर्ण हुन्छ । ’