
काठमाण्डु, १८ वैशाख– काँग्रेस नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनको सरकार पाँचै वर्ष टिक्ने दाबि गरेका छन ।
साथै उनले अब नेकपा एमाले पाँच वर्ष प्रतिपक्षमा बस्ने पनि बताएका छन । आज सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ४ को हनुमान चौकदेखि सीमावर्ती देपानगञ्ज गाउँपालिकासम्म जोड्ने सडकको शिलान्यास गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘नेपालमा अस्थिरता मच्चाउने शक्ति सधैँ लागिरहेको छ ।
त्यस शक्तिलाई पराजित गर्नु अहिलेको चुनौती हो,’ कार्कीले भने, ‘वर्तमान सरकार ढल्छ भन्ने हल्ला चलाइएको छ । म तपाईँहरूलाई ढुक्कका साथ भन्छु आउने पाँचै वर्ष गठबन्धनको सरकार टिक्छ, एमाले पाँचै वर्ष प्रतिपक्षी हुन्छ ।’
उनले नेकपा एमाले र काँग्रेस मिलेर सरकार बनाउने विषय पनि हल्ला मात्रै भएको र त्यो असम्भव भएको बताएका छन । सुनसरी– ४ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेसका नेता कार्कीले सदरमुकामदेखि सीमावर्ती गाउँसम्म जोड्ने सडकको इनरुवा ४ स्थित हनुमान चोकमा शिलान्यास गरेका हुन् ।
उक्त सडक कोसी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालयले ठेक्का लगाएको हो ।
२३ किलोमिटर सडकमध्ये हाल साढे १० किलोमिटर सडक निर्माणको ठेक्का लागेको हो । उक्त सडक महावीर इन्जिनियरिङ एन्ड कन्सट्रक्सन प्रालि काठमाण्डुले ३२ करोड ८३ लाख पाँच हजार ८०३ रुपैयाँमा ठेक्का पाएको हो ।