
एजेन्सी– रुसबाट सस्तोमा पेट्रोलियम पदार्थ किनेर भारतले युरोपतर्फ निर्यात बढाउन सुरु गरेको छ । रुसले छिमेकी युक्रेनमाथि हमला सुरु गरेपछि युरोपियन मुलुकले रुसमाथि प्रतिबन्ध लगाउँदै तेल किन्न छाडेका थिए ।
यही मौका छोप्दै भारतले रुसबाट सस्तोमा तेल किनेर युरोपमा बेचिरहेको छ । रुसमाथि युरोपियन मुलुकले प्रतिबन्ध लगाएपछि पेट्रोलियम निर्यात प्रभावित भएको थियो ।
जस कारण, तेल निर्यात तथ्याङ्क ह्वात्तै घटेपछि रुसले सस्तो मूल्यमा भारत र चीनको बजारलाई केन्द्रित बनायो । फलस्वरुपः भारतले यतिबेला सस्तो मूल्यमा कच्चा पेट्रोलियम पदार्थ किनेर प्रशोधन गर्दै युरोप पठाइरहेको छ ।
भारतका निजी कम्पनीले रुसबाट कच्चा तेल किनेर प्रशोधन गर्दै युरोप बेचिरहेकोअमेरिकी समाचार संस्था ब्लूमवर्गले जानकारी दिएको छ ।
तथ्यांकअनुसार यो वर्षको जनवरीसम्म निरन्तर पाँच महिनादेखि भारतबाट युरोपतर्फ तेल निर्यात बढिरहेको थियो । भारतबाट युरोपमा निर्यात हुने पेट्रोलियमको परिणाम १९ लाख टनसम्म पुगेको छ ।