मजदुरका हकहित सम्बर्द्धनमा कांग्रेस सधैँ लागिरहने छः देउवा

काठमाण्डु टुडे २०८० वैशाख १८ गते ७:४६ मा प्रकाशित

नेपाली काँग्रेस संसदीय दलकाे नया बानेश्वरमा बसेकाे बैठक । बैठकमा बाेल्दै प्रम शेरबहादुर देउवा

काठमाण्डु, १८ वैशाख– कांग्रेस सभापति शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरुको हक र हितको सम्वर्द्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने बताएका छन् ।

मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले शुभकामना सन्देशमार्फत नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना व्यक्त गरेका छन् ।

मे १ तारिख मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । यो दिनलाई संसारभरिका मजदुरहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइँदै आएका छन् ।

सभापति देउवाले २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको उल्लेख गर्दै सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको बताएका छन् ।

‘नेपालमा प्रजातन्त्रको स्थापना २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले कांग्रेस र मजदूरहरु सधैँ एक अर्कामा आबद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ,’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

२०१६ मा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत् अधिकार प्रदान गरेको बताउँदै सभापति देउवाले आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइले अनेक समस्याहरुलाई बेहोरिरहन परेको उल्लेख गरेका छन् ।

उनीहरुको समस्यालाई समाधान गरेर मजदुर वर्गको हक र हितको सम्बद्र्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने सभापति देउवाले उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us