
काठमाण्डु, १३ वैशाख– बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता सामाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।
जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराउँदै यादव विजयी भएका हुन् । यादवले २८ हजार ४ सय १५ मत पाए । कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तेश्रो भएका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६, नेपाल प्रहरीका पूर्वडिआईजी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले २ हजार ८ सय २९ र आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरे ।
एमालेका पौडेलबाहेक सबै उम्मेदवार गत ४ मंसिरको निर्वाचनमा पराजित भएका थिए ।