जब अर्जुननरसिंह केसीले केपी ओलीलाई पद्यमशमशेर जबरासँग तुलना गरे…

काठमाण्डु टुडे २०७९ माघ ७ गते १५:०७ मा प्रकाशित

काठमाण्डु, ७ माघ– काँग्रेस नेता अर्जुननरसिंह केसीले एमाले अध्यक्ष केपी ओलीलाई राणा प्रधानमन्त्री पद्यमशमशेर जबरासँग तुलना गरेका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै केसीले नेपालको संविधानले सरकार बन्ने सम्भावना रहँदासम्म कहीं पनि संसद् विघटनको परिकल्पना नगरेका बताए । ओलीले विगतमा प्रतिनिधिसभा विघटन गरेको विषय सही भएको दलिल गरेकामा केसीले आपत्ति जनाए ।

‘श्री ३ पद्यमशमशेरले जारी गरेको संविधान पढेर जसरी जतिसुकै बेला संसद विघटन गर्न सक्ने प्रावधान नेपाली जनताले निर्माण गरेको सार्वभौम संविधानसभाले जारी गरेको संविधानले संसदले जतिबेलासम्म सरकार दिन सक्छ त्यतिबेलासम्म प्रतिनिधिसभा विघटन गर्न मिल्दैन’, केसीले भने, ‘गलत कुराको प्रतिरक्षा गर्न नलागौं । ससंद विघटन गल्ती थियो । इतिहासको गल्ती स्वीकार गरौं र त्यसलाई सच्याऔं ।’

केसीले गृहमन्त्री रवि लामिछाने चितवनमा निर्वाचन लड्दा भ्रष्टाचारीमाथि कारबाही गर्न आयोग गठन गर्छु भनेको स्मरण गर्दै त्यसको प्रतिक्षा गरिरहेको बताए । देश वैदेशिक ऋणको भारीले थिचिएको भन्दै भ्रष्टाचारमा डुबेको अर्थतन्त्र उकास्न कदम चाल्नैपर्नेमा जोड दिए ।

नेता केसीले सत्तापक्षबाट सभामुख चयन भइसकेकाले उपसभामुख विपक्षी दलबाट हुनुपर्ने बताएका छन् । उनले उपसभामुखकी काँग्रेस उम्मेदवार मुक्ताकुमारी यादवलाई उपसभामुखमा समर्थन गर्न सत्ता पक्षका सांसदलाई समेत आग्रह गरे ।

नेपालको संविधान सन्तुलन, संयोजन र नियमनमा आधारित रहेको भन्दै केसीले संविधानको धारा ९१ ले उपसभामुख फरक पार्टीबाट हुनुपर्ने व्यवस्था भएको चर्चा गर्दै सत्तापक्षले सभामुख प्राप्त गरिसकेकाले उपसभामुख प्रतिपक्षबाट हुनुपर्ने बताए ।

तीनपटक संसदको अनुभव हासिल गरेकी र शिक्षक आन्दोलनमा मधेसका गाउँगाउँ पुगेर महिला जागरणका लागि काम गरेकाले यादव उपसभामुखका लदागि योग्य रहेको उनको भनाइ थियो । मधेस राणा शासनविरोधी आन्दोलनदेखि हालसम्मका सबै आन्दोलनको प्रस्थान बिन्दु भएको चर्चा गर्दै केसीले क्षेत्रीय सन्तुलनका लागि पनि यादव उपसभामुख बन्दा राम्रो हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us