प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाण्डु टुडे २०७९ पुष २६ गते ८:४७ मा प्रकाशित

काठमाण्डु, २६ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदैछन् ।

प्रचण्ड गत १ पुसमा संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ७ दलका १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।

संविधानमा प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, राजपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चित छ । प्रचण्डले काँग्रेस र एकीकृत समाजवादीसँग पनि विश्वासको मत दिन आग्रह गरेका छन् ।

समाजवादीले विश्वासको मत दिने सम्भावना छ । काँग्रेस भने अनिर्णित छ । प्रधानमन्त्री प्रचण्डले सोमबार काँग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास धुम्बाराहीमा भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए । देउवाले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ फर्काएका थिए ।

आजै बस्ने काँग्रेस संसदीय दल बैठकले त्यसबारे निर्णय गर्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us