संविधानले परिकल्पना गरेको सिस्टममा प्रधानमन्त्री चाहिँ प्रधानमन्त्री नै हुन्छ:  प्रचण्ड

काठमाण्डु टुडे २०७९ पुष २५ गते १८:३५ मा प्रकाशित

काठमाण्डु,२५ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै घेराबन्दी र दबावमा नचल्ने बताएका छन् ।

आज (सोमबार) सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन । प्रचण्डले प्रधानमन्त्रीले निर्णय गर्न सक्छ कि सक्दैन, घेराबन्दीमा पर्छ कि भन्ने चिन्ता नलिन आग्रह गरेका छन ।

उनले आफू प्रधानमन्त्री नियुक्त भएपछि कतै घेरामा पर्ने हो कि, प्रधानमन्त्रीले निर्णय गर्न सक्ने अवस्था कति हुने होला भन्ने प्रश्न उठेको पाएको बताएका छन ।

उनले भने,‘हाम्रो सिस्टम, हामीले बनाएको संविधान, संविधानले परिकल्पना गरेको सिस्टममा प्रधानमन्त्री चाहिँ प्रधानमन्त्री नै हुन्छ’ ‘उसलाई कसैको प्रभाव, घेरा, दबावमा चल्न हाम्रो संविधानले, हाम्रो ऐन, कानुन र मान्यताले छुट दिएको छैन ।’

उनले अगाडि भने, ‘त्यस्तो प¥यो भने प्रधानमन्त्रीले कुनै किसिमले अर्कै ढंगले चल्ने परिस्थिति बन्न सक्छ तर प्रधानमन्त्री दबावमा वा निरीह भएर बस्ने परिकल्पना हाम्रो संविधानले गरेको छैन ।

’ उनले प्रधानमन्त्रीले हरेक कुरामा निर्णय दिनुपर्ने र त्यसको आधार संविधान हुने पनि बताएका छन । सरकारमा रहेका र सरकारलाई समर्थन गरेका दलहरु एक ठाउँमा आउने आधार न्यूनतम साझा कार्यक्रम नै रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us