
काठमाण्डु, ६ पुस– नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान भइरहेको स्थानमा गएकी एक मन्त्रीलाई सुरक्षाकर्मीले रोकेका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी मतदान सुरु हुनुभन्दा केही अघि मतदान स्थल काँग्रेस दल कार्यालय सिंहदरबार पुगेकी थिइन् । तर, मतदाता सूचीमा नाम नदेखेपछि सुरक्षाकर्मीलाई गेटबाहिरैबाट फर्काइदिए ।
०७४ मा समानुपातिक प्रणालीबाट सांसद भएकी रेग्मी यसपटक सांसद भएकी छैनन् । ‘मतदाताबाहेक अरुलाई भित्र जान नदिनु भन्ने माथिको आदेश छ’, सुरक्षाकर्मीले रेग्मीलाई भनेका थिए । त्यसपछि उनी फर्किइन् । सिंहदरबारस्थित काँग्रेस संसदीय दल कार्यालयमा दल नेता चयनका लागि मतदान जारी छ ।
बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि निर्धारित समयभन्दा ५० मिनेटपछि मतदान सुरु भएको हो । काँग्रेस दल नेतामा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, पूर्णबहादुर खडका, विमलेन्द्र निधिलगायतको समर्थन छ ।
थापालाई १४औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेलको समर्थन छ । मंगलबार उम्मेदवारी दर्ता गर्दा देउवाको प्रस्तावकमा वरिष्ठ नेता पौडेल र समर्थकमा उपसभापति खड्का थिए ।
यस्तै थापाको उम्मेदवारीको प्रस्तावकमा कोइराला र समर्थकमा गुरुङ, शर्मा र पौडेलले छन् । निर्वाचनमा काँग्रेसका ८९ सांसद मतदाता छन् । संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएकाले काँग्रेस दल नेताको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।