
काठमाण्डु, ६ पुस– नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दल कार्यालयमा निर्धारित समयभन्दा पौने घण्टा ढिलो गरी मतदान सुरु भएको हो । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि मतदान स्थलमा मोबाइल लैजान दिने कि नदिने भन्ने विवादका कारण निर्धारित समयभन्दा ५० मिनेटपछि मात्र मदतान सुरु भएको थियो ।
मतदान स्थलमा सञ्चारकर्मीको प्रवेशमा रोक लगाइएको छ । मतदान स्थल वरपर सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । काँग्रेस दल नेतामा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, पूर्णबहादुर खडका, विमलेन्द्र निधिलगायतको समर्थन छ ।
थापालाई १४औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेलको समर्थन छ । मंगलबार उम्मेदवारी दर्ता गर्दा देउवाको प्रस्तावकमा वरिष्ठ नेता पौडेल र समर्थकमा उपसभापति खड्का थिए ।
यस्तै थापाको उम्मेदवारीको प्रस्तावकमा कोइराला र समर्थकमा गुरुङ, शर्मा र पौडेलले छन् । निर्वाचनमा काँग्रेसका ८९ सांसद मतदाता छन् । संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएकाले काँग्रेस दल नेताको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।