
काठमाण्डु,१२ मंसिर– रद्द भएका दोलखाका १० वटा मतदान केन्द्रमा यँही मंसिर १५ गते पुन: मतदान हुने भएको छ ।
जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले मंसिर १५ गते पुन मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।
‘सोमबार बसेको निर्वाचन व्यवस्थापन समितिको बैठकले १५ गते १० वटा मतदान केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको छ’, उनले भने, ‘त्यसको तयारी आजैबाट सुरु भएको छ ।’
निर्वाचन आयोगले आइतबार मात्रै मङ्सिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन पनि दिएको थियो ।
४ मङ्सिरमा भएको मतदानमा सत्ता गठबन्धनले बुथ क्याप्चर गरेको भन्दै प्रतिनिधि सभाका एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले पुन: मतदानका लागि निवेदन दिएका थिए ।
त्यसपछि आयोगले स्थलगत अध्ययन गरेको थियो । दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो ।