
इलाम, ११ मंसिर– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट पराजित भएका छन् ।
खनाललाई उनकै पूर्वकार्यकर्ता एमालेका महेश बस्नेतले पराजित गरे । यद्यपि अन्तिम घोषणा हुन भने बाँकी छ । निर्वाचन अधिकृत राजकुमार दाहालले समानुपातिक र प्रदेशसभाको मत गणना गर्दा प्रत्यक्षतर्फको मत भेटिएकाले अन्तिम नतिजा सार्वजनिक गर्न भने समय लाग्ने बताए ।
प्रत्यक्षतर्फको मतगणना सकिँदा बस्नेतले २५ हजार ६ सय ९९ र खनालले २३ हजार ४५ मत पाएका छन् । उनीहरुबीच २ हजार ६५४ मतान्तर छ । प्रदेशसभा र समानुपातिकतर्फको मतगणना जारी रहेको र ती दुवैतर्फका गणना सकिएपछि मात्र अन्तिम परिणाम सार्वजनिक गरिने दाहालले बताए ।
खनाल ०४८ यता उक्त क्षेत्रबाट चुनाव लड्दै आएका छन् । ०५६ को बाहेक बाँकी सबै निर्वाचनमा खनाल विजयी हुँदै आएका थिए ।