
एजेन्सी– भारत गुजरातको मोरबीस्थित माछु नदीमा रहेको झोलुंगे पुल भत्किँदा कम्तीमा १ सय ३२ जनाको मृत्यु भएको छ ।
ठूलो संख्यामा मानिसहरु पुलमा बसेर सेल्फी खिचिरहेका बेल अकस्मात पुल भत्किएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पुलको क्षमता १ सय जनामात्र रहे पनि दुर्घटनाको समयमा करिब ५ सय मानिस पुलमा थिए ।
प्रहरी महानिर्देशक आशिष भाटियाका अनुसार करिब १ सय ७७ जनालाई उद्धार गरी बचाइएको छ । दुर्घटनाको छानबिन गर्न प्रदेश सरकारले ५ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको छ ।
राज्यका गृहमन्त्री हर्ष संघवीले पुल ६ महिनादेखि बन्द रहेको बताए । मर्मतपछि यो पुल अक्टोबर २६ मा पुनः खोलिएको थियो । करिब ५ सय ६५ फिट लामो उक्त झोलुंगे पुल १ सय ४० वर्षभन्दा पुरानो हो ।