सरकारकाे ‘सप्राइज’ निर्णयले सभामुख आक्रोशित

काठमाण्डु टुडे २०७८ वैशाख ६ गते १०:३० मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– सभामुख अग्नि सापकोटासँग परामर्श नै नगरी सरकारले संसदको जारी हिउँदे अधिवेशन अन्त्य गरेको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले गत २३ पुसमा सुरु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्रीले संसद अधिवेशन आह्वान र अन्त्य अगाडि सभामुखसँग परामर्श गर्ने परम्परा छ । तर, प्रधानमन्त्री केपी ओली र सभामुख सापकोटाबीच तिक्ततापूर्ण सम्बन्ध रही आएको छ ।

प्रधानमन्त्रीले सार्वजनिक रुपमै सभामुख सापकोटाप्रति रोष प्रकट गर्दै आएका छन् । संसद विघटन र संवैधानिक निकायमा पदाधिकारी सिफारिसलाई चुनौती दिँदै सभामुख सापकोटा अदालत गएका थिए ।

सोही विषयलाई लिएर प्रधानमन्त्रीले सभामुखलाई झगडिया भन्दै आएका थिए । शुक्रबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सापकोटाले अमेरिकी परियोजना एमसीसी अनुमोदनका लागि असहयोगी भूमिका खेलेकाले पदबाट हटाउनेसम्मको चेतावनी दिएका थिए ।

यसअघि संसदको वर्षे अधिवेशन अन्त्य गर्दा पनि प्रधानमन्त्रीले सभामुखसँग परामर्श गरेका थिएनन् । सभामुखको सचिवालयका एक सदस्यका अनुसार सरकारको निर्णयबाट सभामुख सापकोटा दुःखी भएका छन् ।

‘संसदको अधिवेशन बोलाउँदा र अन्त्य गर्दा सरकार प्रमुखले सभामुखसँग परामर्श गर्ने परम्परा छ’, उनले भने, ‘तर, प्रधानमन्त्रीले आफूलाई निषेध गरेर अधिवेशन अन्त्य गरेकामा सभामुखज्यू दुःखी र आक्रोशित हुनुहुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us