सिधाकुराविरुद्ध अदालत आफैंले तयार पा-यो मुद्धा

काठमाण्डु टुडे २०८१ वैशाख १६ गते २०:२२ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– सर्वोच्च अदालत प्रशासनले ‘सिधाकुरा डटकम’ नामको युट्युब च्यानलका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाविरुद्ध अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने भन्दै प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदनमा ‘सिधाकुरा’ ले ‘चारसय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्ट्रिङ्ग अपरेसन’ सहित विभिन्न शीर्षकमा भ्रामक र अपहेलनाजन्य सामाग्री अनलाइन र युटुबबाट प्रसारित गरेकाले हदैसम्मको सजाय हुनुपर्ने माग गरिएको छ ।

सर्वोच्चको सह–प्रवक्ता एवं उपरजिष्ट्रार गोविन्द घिमिरेले तयार पारेको प्रतिवेदनमा अदालतको जनआस्थामा गम्भीर असर पुग्ने काम गरेको भन्दै उनीहरुविरुद्ध हदैसम्मको कारबाही माग गरिएको छ । उक्त प्रतिवेदन सोमबार इजलासमा पेश हुने घिमिरेले बताए ।

प्रतिवेदनले इजलाससँग प्रसारित भ्रामक एवं झुठा सामग्री युटुवलगायत सामाजिक सञ्जालबाट तत्काल हटाउन आदेश दिन माग गरेको छ । त्यस्ता सामग्री तयार गर्ने तथा प्रसारण गर्ने व्यक्तिलाई अदालतमा झिकाएर बयान गराउन पनि माग गरिएको छ ।

उक्त कार्य फौजदारी कसुर समेत भएकाले आवश्यक अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायलाई आदेश दिन पनि प्रतिवेदनमा माग गरिएको छ ।

‘गलत मनसाियबाट तयार भएका र प्रसारण गरिएका कार्यहरू अन्य फौजदारी कसूरसमेत भएकोले सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी कारबाही गर्नु, गराउनु भनी सम्बन्धित निकायका नाममा आदेश जारी गरी पाउँ,’ प्रतिवेदनमा भनिएको छ’, ‘राज्यका सम्बन्धित निकायबाट भएको कारबाहीको नियमित रुपमा लिखित प्रतिवेदन सर्वोच्च अदालत समक्ष पेस गर्नु भनी आदेश जारी गरी पाउँ ।’

सिधाकुरा डटकमलाई पनि अनुसन्धान गरी मुद्दा अघि बढाउन प्रहरीलाई आदेश दिनुपर्ने माग प्रतिवेदनमा छ ।

अदालतको अवहेलना आकर्षित भएमा १ वर्षसम्म कैद वा दशहजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us