वडाध्यक्षको श्रीमती कक्षा चारमा पढ्दै

काठमाण्डु टुडे २०७६ भदौ ३१ गते ११:५९ मा प्रकाशित

कैलाली , ३१ भदौ – जोशीपुर महादेउली मसामखामकी मनबुझौनी चौधरी ५० वर्षको उमेरमा कक्षा ४ मा पढ्दै आएकी छिन् । नेपाली अक्षर सरर पढ्न सक्छु ।’ मनबुझौनीले भनीन् , ‘अङ्ग्रेजी अक्षर सामान्य लेख्न र पढ्न थालेकी छु । सिक्दै जाँदा अझ पढ्ने इच्छा बढ्दै जाँदो रहेछ ।’
उनले सात जनाको परिवारका लागि बिहान र सांझ खाना पकाएर विद्यालयलाई निरन्तरता दिएकी छिन् । ‘श्रीमान् वडाध्यक्ष, बुहारी शिक्षिका र आफू पढ्न नजान्ने हुंदा कमजोर महसुस भयो, घरमा सल्लाह गरेँ, अनि दुई वर्षदेखि नियमित पोशाकमै विद्यालयमा आउने गरेकी छु ।’उनले भनीन्, ‘म श्रीमानलाई सुनाउंँदै पढ्छु । घरका सबै खुशी छन् । मेरो रहर पनि पूरा भएको छ ।’
उनी जस्तै जोशीपुर– ३ छोटेलाल स्मृति आधारभूत विद्यालय लक्कडमा आठ महिला विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । उनीहरू सबै ४० वर्षभन्दा माथि उमेरका छन् । पढ्ने रहरलाई उमेरले छेक्दैन भन्ने भनाइलाई जोशीपुरका आठ आमाले प्रमाणित गरेका छन् । उमेरले धेरै पढ्न नसके पनि हिसाबकिताब राख्न र अक्षर चिन्न सक्ने हुने सबैको इच्छा छ । सावाँ अक्षर पढ्न र लेख्न सक्ने भई व्यावहारिक जीवन अगाडि बढाउने सबैको रहर छ ।
सानो उमेरमा पढ्न नपाएका महिला ४० कटेपछि पढ्न पाएकामा निकै खुशी छन् । ग्रामीण क्षेत्रमा रहेकाले अहिले गाउँठाउँमा विभिन्न बैठक र महिलासम्बन्धी छलफल हुने भएकाले आफूहरू निरक्षर हुँदा हस्ताक्षरसम्म गर्न नजानेको पीडाले उनीहरूमा पढ्ने इच्छा जागेको हो ।
सामूहिक रूपमा पढ्ने मनसाय र सल्लाह गरेर विद्यालय आउन थालेको अर्का विद्यार्थी पानमति चौधरीले बताउनुभयो । ‘सुरुमा विद्यालय आउँदा धेरैले कुरा काटे, समूहमा सँगै आउने, सँगै जाने गर्याौैं, जसले सहज भयो’, पानमतिले भनीन्, ‘अहिले नियमित विद्यालय आउँदा पढाइ राम्रो भइरहेको छ । सबैले राम्रो गरिरहेछौं भन्न थालेका छन् ।’

विद्यालयमा बालबालिकासँगै महिला विद्यार्थीलाई राखेर पढाइ गर्दा खासै समस्या नभएको शिक्षिका श्रीदेवी कठरिया बताउछिन् । ‘महिला विद्यार्थीहरू छिट्टै लेख्न, पढ्न नसक्ने भए पनि बुझाइ राम्रो भइरहेको छ । सुरुसुरुमा केही समस्या भए पनि अहिले समस्या छैन’, शिक्षिका कठरियाले भनीन्, ‘नजानेका कुरा सोध्ने गर्नुहुन्छ, उनीहरूलाई नेपाली विषयमा कुनै समस्या छैन, अङ्ग्रेजी विषयको अध्यापन गराउँदा बुझाउन समय लाग्छ । अन्य खाली समयमा समेत सिकाउने गरेका छौ ।’

विसं २०६६ मा स्थापना भएको छोटेलाल विद्यालयमा पाँच सय विद्यार्थी छन् । विद्यालयमा महिलाहरू आएर पढ्ने मनसाय र व्यवस्थाको माग गरेको हुनाले सोहीबमोजिम भर्ना गरी पढाइरहेको विद्यालयका प्रधानाध्यापक कुमारसिंह कठरियाले बताइन्। ‘शिक्षाबाट वञ्चित भई पढ्न चाहनेको लागि विद्यालयले सधैँ अग्रसरता देखाएको छ’, प्रधानाध्यापक कठरियाले भनीन्, ‘कसैलाई शिक्षाबाट वञ्चित गर्न मिल्दैन, त्यसैले महिला विद्यार्थीलाई अन्य विद्याथीसरह पढाइरहेका छौं । उनीहरूलाई थप कक्षा पनि दिने गरेका छौं ।’
उनले स्थानीय तहदेखि अन्य निकायबाट व्यवस्थापनमा सहयोग भए महिला विद्यार्थीलाई प्राथमिकतामा राखेर अध्यापन गराउन सकिने बताइन् । (रासस)
भदौ ३१, २०७६

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us