झाँक्रीले ब्लेडले बिरामीको पेट प्वाल पारिदिएपछि…

काठमाण्डु टुडे २०७६ भदौ ३१ गते ९:११ मा प्रकाशित

धादिङ ३१ भदौ– मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ ।

पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो ।  २ महिनाअघि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै बसेर आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए ।

पेट चिरेर विकार निकालेबापत ८ हजार रुपैयाँ पनि असुलेका थिए ।  झाँक्रीले पेटमा प्वाल खोपिदिएकाले अवस्था झनै जटिल भएपछि उनलाई उपचारका लागि काठमाण्डु ल्याइएको थियो ।

तर, काठमाण्डु नयाँबजारस्थित पिपल्स मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालीदिएर फिर्ता गरिदिएको थियो । लामाविरुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन् । हाल उनी फरार छन् । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us